हाम्रो उपलब्धिहरू – (NKSS)

Author: नेपाली कानुनी साहित्य समिति (NKSS)

  • कविता वाचन प्रतियोगिता:

कविता वाचन प्रतियोगिताद्वारा विद्यार्थीहरूमा नेपाली भाषामा अभिव्यक्त गर्ने क्षमता र साहित्यप्रतिको प्रेममा विकास भएको देखिएको छ। यी प्रतियोगिताहरूद्वारा विद्यार्थीहरूलाई आफ्नो साहित्यिक प्रतिभा प्रदर्शन गर्ने अवसर  प्राप्त भएको छ र विद्यार्थीहरूले नेपाली भाषालाई अझ नजिकबाट बुझ्ने मौका पाएका छन्।

  • कानुनी मुद्दाहरूमा छलफल कार्यक्रम 

 हामीले हरेक साता विद्यार्थीहरूसँग कानुनी मुद्दाहरूमा छलफल कार्यक्रम आयोजना गरेका थियौं। यसले विद्यार्थीहरूको कानुनी मुद्दाहरूको विश्लेषण गर्ने र बुझ्ने क्षमतामा वृद्धि गर्नुका साथै तिनीहरूको कानुनी ज्ञानलाई निखार्न मद्दत गरेको देखिन्छ। यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूको व्यावसायिक जीवनमा अमूल्य फाइदा पुर्याउने भएकाले यो समितिले वैचारिक र तार्किक वहसलाई बढोत्तरी दिएको हो। छलफलका क्रममा हामीले विभिन्न कानुनी मुद्दाहरू जस्तै संवैधानिक कानुन, फौजदारी मुद्दाहरू, नागरिक अधिकार, व्यावसायिक कानुन, र अन्तर्राष्ट्रिय कानुन जस्ता महत्वपूर्ण विषयहरू समेटेका थियौं। यसले विद्यार्थीहरूलाई व्यावहारिक कानुनी ज्ञान र अनुभव प्रदान गरेको पाइन्छ। साथै यसले विद्यार्थीहरूको तार्किक र विश्लेषणात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। कानुनी मुद्दाहरूको छलफल कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा कानुन व्यवसायमा उत्कृष्टता हासिल गर्न प्रेरित मात्र नगरी उनीहरूको आत्मविश्वास र पेशागत दक्षतालाई पनि वृद्धि गराउन भूमिका खेल्ने अनुभूति हामीले गरेका छौं। 

  • कानुनी मस्यौदा लेखन प्रशिक्षण कार्यक्रम:

काठमाडौँ विश्वविद्यालय स्कुल अफ लका विद्यार्थीहरूमा कानुनी मस्यौदा लेखन प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूको  कानुनी ज्ञानमा वृद्धि गरेको छ। यसले तार्किक र विश्लेषणात्मक क्षमतामा सुधार ल्याउँदै भविष्यमा अधिवक्ता, न्यायाधीश, कानूनी सल्लाहकार, र कानुन व्यवसायीको रुपमा सफल हुन मद्दत पुर्याउने छ। साथै, हामीले गरेको जाहेरी लेखन प्रतियोगिताद्वारा विद्यार्थीहरूमा प्रयोगात्मक सिपको विकास भएको छ। 

  • लेखकसँग अन्तरक्रिया कार्यक्रम:

लेखकसँगको अन्तरक्रिया कार्यक्रमले पनि विद्यार्थीहरूमा भाषा, साहित्य र कविता लेखनप्रति रुचि बढाएको छ। हामीले ‘ओ-पेङ् दोर्जे’का लेखक राजु स्याङ्तानसँग उहाँको किताबबारे छलफल गरेर विद्यार्थीहरूलाई साहित्यिक क्षेत्रसँग नजिक बनायौं। यसले विद्यार्थीहरूलाई कथा तथा कविताहरू पढ्न, साहित्यिक किताबहरूमा रुचि बढाउन र साहित्यिक कुराहरूमा संलग्न हुन प्रोत्साहित गर्यो।

  • प्रधान न्यायाधीशसँग अन्तरक्रिया कार्यक्रम

नेपाली कानुनी साहित्य समितिले आफ्नो पहिलो कार्यकालदेखि नै प्रत्येक कार्यकालमा प्रधान न्यायाधीशसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिरहेको छ। समितिद्वारा विगतका वर्षमा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की र पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग बृहत् अन्तरक्रियात्मक समारोह आयोजना गरिएको थियो। यस कार्यक्रममा विद्यार्थीहरूले कानुनी क्षेत्रमा भएका विविध कठिनाइहरू, संघर्षहरू, र चुनौतीहरूको बारेमा प्रधान न्यायाधीशहरूसँग गहन छलफल गर्ने अवसर पाएका छन्। यो कार्यक्रमले विद्यार्थीहरूलाई कानुनी पेशामा आबद्ध हुँदा आउने संभावित कठिनाइहरूबारे सजीव र प्रेरणादायक अन्तर्दृष्टि प्रदान गरेको छ। विद्यार्थीहरूले यो कार्यक्रममा प्रधान न्यायाधीशहरूसँग वहाँहरूको व्यक्तिगत अनुभव र संघर्षको कथा सुन्ने मौका पाएका छन्, जसले उनीहरूलाई कानुनी क्षेत्रमा भविष्य सुनिश्चित गर्ने  प्रेरणा र उत्साह प्रदान गरेको छ। साथै, भविष्यमा प्रधान न्यायाधीश बन्ने सपना देख्ने विद्यार्थीहरूले यो कार्यक्रममार्फत आफूले भोग्नुपर्ने कठिनाइहरू र तिनको समाधानको उपायहरूको बारेमा स्पष्ट हुने अवसर पाएका छन्। 

यस अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले गरेका प्रश्नहरूको उत्तर प्रधान न्यायाधीशहरूले गहन रूपमा दिनु भएको छ, जसले विद्यार्थीहरूको शैक्षिक र व्यावहारिक जीवनलाई अझै सहज बनाएको छ। विद्यार्थीहरूको मस्तिष्कमा रुमलिएका प्रश्नहरूको उत्तर दिनु र तिनीहरूलाई प्रधान न्यायाधीशहरूको अनुभवले मार्गदर्शन गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य हो। यसले समग्र विद्यार्थीहरूलाई कानुनी क्षेत्रमा उत्कृष्टता हासिल गर्न र आफ्नो सपनालाई साकार पार्न मद्दत पुर्‍याएको छ।

यसरी नेपाली कानुनी साहित्य समितिले विगतका दुई कार्यकालदेखि काठमाडौं विश्वविद्यालय स्कुल अफ ल मा विद्यार्थीहरू माझ कानुनी भाषा साथै नेपाली भाषा साहित्यप्रति विभिन्न कार्यक्रम  गरी रुचि बढाइरहेको छ।

Leave a Reply